लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

बुधबार, असार २६, २०८१

दाङ  - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  साथै कोशी र मधेश प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्