सामुहिक राजीनामा दिएर बाग्मती प्रदेश सरकारबाट एमाले बाहिरियो, समर्थन फिर्ता लियो

सोमबार, असार २४, २०८१

मकवानपुर - नेकपा एमाले बाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले बाग्मतीमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छाडेको हो ।

बंगलाचुली गाउँपालिका

एमालेका मन्त्रीहरूले आज बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । एमाले बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले मुख्यमन्त्री कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका थिए ।

नयाँ सत्ता समीकरण बनेसँगै बाग्मतीमा अब चौथो पटक सरकार बन्ने भएको छ । कांग्रेस र एमालेबीचको केन्द्रीय सहमतिअनुसार यसपटक बाग्मती सरकारमा कांग्रेसले नेतृत्व गर्नेछ । कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्