सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको प्रयासलाई  तुहाइयो : अध्यक्ष  माधवकुमार नेपाल

आइतबार, माघ १४, २०८०

काठमाडौँ - सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र फाटो ल्याउने एमालेको प्रयासलाई आफूहरुले तुहाएको दावी गर्नु भयो।

बंगलाचुली गाउँपालिका

सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रियसभा निर्वाचनमा पनि एमाले असफल भएको उहाँको भनाइ थियो।

आइतवारबाट काठमाडौँमा शुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जितेको  विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताउनु भयो।

उहाँले राष्ट्रियसभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाउनु भयो।

‘राष्ट्रियसभाको १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरेका थिए। तर कोशी प्रदेशमा महिला क्लष्टरमा गठबन्धनको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिलाई हराउँदै नेकपा एमालेका प्रतिनिधि निर्वाचित भएर जित हासिल गरेको छ। नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति अनुसार राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गर्‍यो‚’ अध्यक्ष नेपालले भने, ‘वास्तवमा यो हाम्रो पार्टीविरुद्ध लक्षित थियो। सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भपछि एमालेले राप्रपासँग गठबन्धन गर्‍यो। कोशीमा एक सिट जितेर यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ।’

अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दावीसमेत गर्नुभयो। 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्