प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेश विजयी

आइतबार, माघ १४, २०८०

काठमाडौँ - त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई एक सय ६४ रनले हरायो । मूलपानीमा भएको अर्को खेलमा मधेशले लुम्बिनी प्रदेशलाई नौ रनले हरायो । 

बंगलाचुली गाउँपालिका

जितसँगै सात खेलबाट १० अङ्क बनाएको आर्मी चौथो स्थानमा छ । पराजित कर्णाली आठ खेलबाट ६ अङ्कका साथ सातौँ स्थानमा छ । जितका लागि आर्मीले दिएको दुई सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो ।

कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउनुभयो । दिवान पुनले १८, विपिन शाहीले १४ तथा कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले १२र१२ रन बनाउनुभयो । बलिङमा आर्मीका विवेक यादव र कुशल मल्लले तीन तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई र साहब आलामले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ७९ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले विजित एक सय रन बनाउनुभयो । उहाँले एक सय ३२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । जारी प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो । 

यस्तै बसिर अहमदले अविजित ९८, भीम सार्कीले २५, कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन जोड्नुभयो । बलिङमा कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिनुभयो । प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक एक विकेट लिनुभयो । 

यस्तै मूलपानीमा जितका लागि मधेशले लिएको एक सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६० रनमा समेटिएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ६२ रन बनाउनुभयो ।

अविशेक गौतमले २६, दिलसाद अलीले २२ र मृनल गुरुङले २१ रन बनाउनुभयो । बलिङमा मधेशका प्रदिक पासवान एक्लैले ६ विकेट लिनुभयो । अविशेक तिवारीले दुई तथा रुपेश सिंह र हरिशंकर साहले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । मधेशका लागि अरनिको यादवले ३६ रन बनाउनुभयो । पवन सराफ र अविशक तिवारीले समान २६र२६, मयन यादवले २२, अनिल साहले १६ र प्रदीप पासवानले १० रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका वीर मगरले चार तथा अविशेक गौतमले तीन विकेट लिनुभयो । जितसँगै नौ खेलबाट १२ अङ्क बनाएको मधेश तेस्रो स्थानमा छ । शीर्ष र दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशको पनि समान १२ अङ्क छ । पराजित लुम्बिनी दुई अङ्कसहित नवौँ स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्