प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८१र०८२ को बजेट बहुमतले पारित

मंगलबार, असार ११, २०८१

काठमाडौँ - प्रतिनिधि सभाबाट आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो ।

आउँदो वर्ष सरकारले १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याउने बजेटमा उल्लेख छ । राजस्व र अनुदानबाट अपुग भएको रकम अर्थात् ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋण लिइने बजेटमा उल्लेख छ । यसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ ।

प्रतिनिधि सभामा गएको जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्