सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : सभापति शेरबहादुर देउवा

मंगलबार, असार ११, २०८१

काठमाडौँ  - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

मङ्गलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै आपसमा एक भएर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताउनुभयो ।

‘‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईँहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् ।,’’ उहाँले भन्नुभयो, ‘‘यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईँहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’’

सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्