युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी

बुधबार, असार ५, २०८१

दाङ - युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी भएका छन् । जर्मनीमा भइरहेको प्रतियोगितामा गएराति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । लाइपजिगमा भएको खेलमा पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । उसले एक गोल उपहार पायो ।

बंगलाचुली गाउँपालिका

चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे । यो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् तर उनले ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । सन् २००४ देखि युरोकपमा सहभागी रोनाल्डो त्यसपछि लगातार छैठौँ पटक सहभागी भएका छन् ।

जितसँगै पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल समूह ‘एफ’ को दोस्रो स्थानमा छ । यो समूहमा टर्की तीन अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै यही समूहको अर्को खेलमा टर्कीले जर्जियालाई ३–१ गोलले पराजित गर्‍यो ।

युरोकपमा आज दोस्रो चरणको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् । यसअघि भएको पहिलो चरणको खेलमा क्रोएसिया स्पेनसँग र अल्बानिया इटालीसँग हारेका थिए ।

त्यस्तैगरी राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् । यसअघि जर्मनीले स्कटल्याण्डलाई हराएको थियो भने हङ्गेरी स्वीट्जरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्