राजनीतिलाई सेवाको रुपमा ग्रहण गर्न आवश्यक छ  नेता  प्रकाशमान सिंह

शुक्रबार, माघ १२, २०८०

हेटौँडा - नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

बंगलाचुली गाउँपालिका

नेपाली काँग्रेस स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली काँग्रेस बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई सम्बोदन गर्दै उहाँले राजनीति कुनै पद पाउन र कमाउन नभइ सेवाको रुपमा सबैले ग्रहण गर्नुपर्ने बताउनुभयो । 

पार्टीमा प्राप्त जिम्मेवारी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताले चाहेको सुशासनलाई अनुभूत गराउन पार्टी लाग्नुपर्ने जिकिर गर्दै जनताको इच्छा आकांक्षा बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

संघीय कानुन बनाउन ढिला हुँदा संघीयतामा प्रदेश र स्थानीय तहको अधिकार प्राप्त हुन नसकेको स्मरण गराउँदै उहाँले त्यसतर्फ सांसदहरुको ध्यान जानुपर्ने बताउनुभयो । “संविधान जारी गर्न कांग्रेसले नेतृतवदायी भूमिका निर्वाह गरेको छ, यो इतिहासमै महत्वपूर्ण काम भयो” सिंहले भन्नुभयो । 

काँग्रेसले संविधान जोगाउन गठबन्धन गरेर नेतृत्व गरेको बताउँदै गठबन्धनलाई बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो । संविधान र लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यान्वयन मार्फत देश विकास गर्न गठबन्धन बनेको उहाँको भनाइ छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । 

जिल्ला सभापति वुद्ध लामाले काँग्रेस स्थापनाको मर्मलाई कसरी आत्मसात गर्ने भन्ने चिन्ता रहेको बताउँदै पार्टी रुपान्तरण आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, विष्णुदेवी पुडासैनी र जितजङ्ग बस्नेत लगायतको सहभागिता थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्