दाङको विकट क्षेत्र हारीचारमा पुग्यो विद्युत्

आइतबार, जेठ २०, २०८१

दाङ -  दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका वडा नं. १ हारिचारलगायतका क्षेत्रमा विद्युत् पुगेको छ ।

बंगलाचुली गाउँपालिका

संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत् सेवा सुचारु गरिएको हो । वडा नं. १ को विकट क्षेत्र  हारिचार, कालापहरा, बाघखोर, तिनुखारा, बान्द्रखोला, आरखुट्टी, बसिनडाँडा, सिद्धपधेरा, सालघारी, हल्दे, बाँझविसाउनलगायतका क्षेत्रमा पहिलो पटक विद्युत् पुगेको हो ।

जहाँ चारवटा वटा ट्रान्समिटर जडान गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले बताउनुभयो । पेदीखोला, हारिचार, बाघखोर र कालापहरामा ट्रान्समिटर जडान गरेर सेवा प्रदान गरिएको हो । लामो समयदेखि त्यहाँका करिब चारसय घर परिवार विद्युतको पखाईमा थिए ।

सोलार,टुक्कीको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरू विद्युत् पुगेपछि भने खुसी भएका छन् । अब विभिन्न कुटानी, पिसानीलगायतका कार्यका लागि पनि सहज हुने हारीचारका दुर्गा घर्तीले बताउनु भयो ।

उक्त कार्यको लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले उद्घाटन गर्नु भयो । त्यस अवसरमा मास्कीले पश्चिम दाङ विकट क्षेत्रका रुपमा लिइने र विकासका हिसाबले पछि परेको भन्दै अब त्यसो हुन नदिने बताउनु भयो । उहाँले पश्चिम दाङलाई हरेक हिसाबले समृद्ध दाङ बनाउने आफ्नो अभियान रहेको बताउनु भयो ।“पश्चिम दाङलाई सबैले कर्णाली भनेर भन्छन्”,उहाँले भन्नुभयो “तर, अब त्यसो रहदैन्, समृद्धि पश्चिम दाङ बनाउँछौँ ।”

उक्त अवसरमा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशेलीलगायतले मन्तव्य ब्यक्त राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव पृथ्वी पौडेलले गर्नु भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्