नेपाल ‘ए आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित

शुक्रबार, चैत १६, २०८०

काठमाडौं  : आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ।

बंगलाचुली गाउँपालिका

टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट गुमाउँदै २०१ रन मात्र बनायो।

आयरल्यान्डविरुद्ध नेपालका लोकेश बमले शतक प्रहार गर्नुभयो। उहाँले ५२ बलमा आठ–आठ चौका र छक्काको मद्तमा शानदार शतक प्रहार गर्नुभएको हो। उहाँ ५६ बल खेल्दै १०६ रन बनाएर आउट भएपछि नेपालको ब्याटिङ लाइन धरापमा परेको थियो।

आरिफ शेखले २६ बलमा ४९ रन बनाउनुभयो। उहाँ एक रनले अर्धशतक बनाउन चुक्नुभयो। कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सक्नुभएन।

आयरल्यान्डका फिओन ह्यान्ड र म्याथ्यू हम्फ्रेजले तीनतीन विकेट लिनुभयो। म्याथ्यू फोस्टरले दुई विकेट लिँदा गेभिन होई र थोमस मेयसले एकएक विकेट हात पार्नुभयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रन बनाएको थियो।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गर्नुभयो। त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८र३८ रन बनाउनुभयो। स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाउनुभएको थियो।

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिनुभयो। सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिनुभयो। नेपाल र आयरल्यान्ड ‘ए’को अर्को खेल शनिबार हुँदैछ। नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले टी–२० र एक दिवसीय सिरिज खेल्दैछ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्