श्रमिक आवाज (कविता)

बिहीबार, चैत ८, २०८०

श्रमिक आवाज  (कविता)

बंगलाचुली गाउँपालिका

जतिबेला अम्बानी थिएनन्
बिनोद चौधरी थियनन्
त्यतिबेला म कामी दाई थिए
म लोहार थिए,
जतिबेला जमिन जोत्नलाई
ट्याक्टर थियनन्
जमिन खोदल्नलाई मेसिन थियनन्
मेसिनहरु बनाउन
न त  टाटा थिए
न त  सिजी थिए
त्यति बेला मेरो आरन थियो
मेरो आरनमा मैले बनायको
हलो थियो
फालो थियो
कोदालो थियो
आज मेसिन बनाउनेहरु संग दुनिया छ
त्यति बेला म दुनिया बनाउने संग एक हतौडा थियो
उनिहरु हिडदा पुष्पगुच्छा बर्सन्छ
म हिडदा छि छि दुर्दुर् हुन्थ्यो
म एक अछुत थिएँ
म एक श्रमिक थिएँ।
जतिबेला ठुलाठुला डिजाईनर थियनन्
त्यतिबेला म दमाई दाई थिएँ
जतिबेला ठुलाठुला गार्मेन्ट उद्योग थियनन्
त्यतिबेला मेरो कल थियो
मेरो कलमा
मैले सीलाएको कपडाले
सबैको इज्जत छोप्थ्यो
अहिले डिजाइनरहरुको
ठुला ठुला उद्योगीहरु को
जताततै इज्जतै इज्जत छ।
मेरो कल र मेरो
जतागयो उतै ब्यजत छ
म एक अछुत  थिएँ।
म एक श्रमिक थिएँ ।
जतिबेला ठुलाठुला गायक थियनन्
संगितकार थिएनन
त्यतिबेला म गाइने दाई थिएँ
जतिबेला गितार थियन
त्यतिबेला मेरो सारंगी थियो
जतिबेला ड्रमसेट थियन
त्यति बेला मेरो
सनै थियो
बाजा थियो
मादल थियो
मादल बनाउने तबेला थियो
मेला पातमा तिनै गुन्जन्थे
त्यतिवेला पनी म अछुत नै थिय
अहिले मेला महोत्सव मा
ठुला ठुला ड्रम सेट गुन्जन्छन
गायकहरु गर्जन्छन
तर उनिहरु सेलिब्रेटी हुन
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ।
जतिबेला इरिक थियन
गोल्डस्टार थियन
नयाँ नयाँ डिजाइन का सुटबुट् थियनन्  
त्यतिबेला मेरो जुत्ता सिउने काटा थियो
तिन खुट्टे थियो
त्यतिबेला म सार्की दाई थिय
मैले सिलायको जुत्ता चप्पलले
सबैको पैतलाको  रक्षा गर्दथ्यो
तर मेरो इज्जत भने
त्यो पैतलामुनीको धुलो जत्तीपनी थियन
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ
श्रमिकहरू हो
अछुतहरु हो
दलितहरु हो
कयौँ जन्जिर तोडिएका छन
कयौँ जन्जिर तोडिदैछन
कयौँ जन्जिर तोडन बाँकी छ
सासकहरु हो
हाम्रो आवाजहरु सुन
हामीलाई बिष्टको कलो होइन
हामीलाई आफ्नो थलो चाहिन्छ
तिम्रो हामीलाई केही चाहिदैन
हामीले बनाएको
हामिले सजाएको
हामीलाई हाम्रो संसार चाहिन्छ
मान्छे सरह सम्मान चाहिन्छ
हामी संसार सजाउने मान्छे थियौँ
पसिना बगाउने श्रमिक थियौँ
हामी अछुत थिएनौं ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्