नेकपा एमालेद्धारा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन  अन्य दललाई अनुरोध

शुक्रबार, फागुन २५, २०८०

काठमाडौँ - सत्तारूढ नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ ।

बंगलाचुली गाउँपालिका

आज बिहान पार्टी मुख्यालय च्यासल ललितपुरमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले देशको विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता कायम गरेको निष्कर्ष निकाल्दै एमालेले त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ।

एमाले महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित गठबन्धन सरकारलाई साथ र समर्थन गर्न अरू दलहरूलाई पनि अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले आउँदो वैशाख १० गते नेकपा स्थापना दिवस मनाउन विशेष समारोह गर्ने निर्णय गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन टुटेपछि अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सम्मिलित नयाँ गठबन्धन बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्