त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२ को तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हरायो

शुक्रबार, फागुन १८, २०८०

काठमाडौँ  - नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको छ । रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जिवित राखेको छ । 

बंगलाचुली गाउँपालिका

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो । 

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाउनुभयो । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाउनुभयो । यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो ।

बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो ।

जितसँगै नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क रहेको छ । दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । नेपालले यस सिरिजको चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्