विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित

बुधबार, फागुन ९, २०८०
दंगीशरण गाउँपालिका

काठमाडौँ - आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल  नामिबियासँग दुई विकेटले पराजित भएको छ । 

बबइ गाउँपालिका

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाउनुभयो । यस्तै माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउनुभयो । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो । कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो । 

जितसँगै चीन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 

आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र अमेरिका रहेका छन् । सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् । 

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ  भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ । लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्