माओवादी नेता रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सोमबार, फागुन ७, २०८०

काठमाडौं - सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन) लाई  चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरी नेता पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई  चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिबाना सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको छ । प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्