सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सिसहनियाँ, ६ वैशाख - नेपाल मगर विद्यार्थी संघ राप्ती गाउँपालिका समितिको अध्यक्षमा प्रदीप घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको छ।
शनिबार राप्ती गाउँपालिका–८, पिपरीमा सम्पन्न संघको दोस्रो अधिवेशनले घर्ती मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नव-निर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा रिमा घर्ती मगर, उपाध्यक्ष झमी राना मगर, सचिव मेनका रखाल मगर, सह–सचिव रिजन घर्ती मगर र कोषाध्यक्षमा संगीता पुन मगर निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा सद्स्यहरु पुर्णिमा राना मगर,भुमा दर्लामी मगर,सुस्मिता बुढा मगर,ओविन्द्र सुनारी मगर,उषा पुन मगर,पुर्णिमा पुन मगर,समीर बुढा मगर लगायतका रहनु भएको छ।
अधिवेशन संघका अध्यक्ष कृष्ण पुन मगरको अध्यक्षता, लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको प्रमुख आतिथ्यता र बौद्ध समाज लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्र बहादुर पुन मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झाक्री मगरले मगर भाषा, संस्कृति र परम्परागत पहिरनको संरक्षणमा सबै मगर समुदाय, विशेषतः विद्यार्थी र युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “भाषा, संस्कृति र पहिचान कुनै पनि समुदायको जरा हो। यदि यी जरा कमजोर भए भने हाम्रो अस्तित्व संकटमा पर्छ। त्यसैले मगर विद्यार्थीहरूले आफ्नो अध्ययनसँगै समुदायप्रतिको दायित्व पनि बहन गर्नुपर्छ।”
झाक्री मगरले युवाहरूलाई मगर भाषाको अध्ययन, लेखन, पाठ्यक्रममा समावेश र बोलचालमा प्रयोग गर्न प्रेरित गर्नुका साथै परम्परागत संस्कृति र संस्कारलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। “संरक्षण कागजमा मात्र होइन, जीवनशैलीमै देखिनुपर्छ,” उहाँले जोड दिनुभयो।
त्यस्तै, विशिष्ट अतिथि चन्द्र बहादुर पुन मगरले मगर समुदायको जीवनशैली, धर्म, संस्कृति तथा जन्मदेखि मृत्यु संस्कारसम्मका परम्परागत विधिबारे प्रकाश पार्दै युवापुस्ताले ती अभ्यासलाई नबिर्सन नहुने बताउनुभयो।
कार्यक्रममा नेपाल मगर संघका पूर्व सहसचिव तथा मगर महिला संघकी अध्यक्ष बिस्पुरा घर्ती मगर, नेपाल मगर संघ राप्ती गाउँपालिकाका सचिव टिका बहादुर बुढा मगर, वडा नं. १ का अध्यक्ष केशमान पुन मगर, नेपाल मगर महिला संघकी कुमकला रखाल मगरलगायतले मगर समुदायको हक, अधिकार र पहिचानको प्रवर्द्धनमा जोड दिनुभएको थियो।
रिमा घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नव–निर्वाचित अध्यक्ष प्रदीप घर्ती मगरले गर्नुभएको थियो।