राप्ती गाउँपालिका–२ मा अनलाइन ठगी तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

शुक्रबार, वैशाख ५, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

भालुबाङ, ५ बैशाख - दाङको राप्ती गाउँपालिका–२, लालमटियामा बिहीबार अनलाइन ठगी तथा घरेलु हिंसा न्यूनीकरणसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय भालुबाङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख तथा प्रहरी निरीक्षक अमर बहादुर माझीले अनलाइन ठगी तथा साइबर सुरक्षासम्बन्धी विषयमा जानकारी दिनुभयो। उहाँले सामाजिक सञ्जाल, मोबाइल फोन, बैंकिङ प्रणाली तथा अनलाइन खरिद–बिक्री जस्ता माध्यममार्फत हुने ठगीका घटनाहरू उल्लेख गर्दै यस्ता जोखिमबाट कसरी जोगिने भन्नेबारे सहभागीहरूलाई विस्तृत जानकारी दिनुभयो।

“हामीमध्ये धेरैले प्रविधिको प्रयोग त गर्छौं, तर सुरक्षित प्रयोगबारे सचेत हुँदैनौं। यही कमजोरीको फाइदा उठाएर ठगहरू सक्रिय हुन्छन्,” उहाँले भन्नुभयो, “अनलाइन प्रयोग गर्दा अज्ञात व्यक्तिलाई व्यक्तिगत विवरण वा बैंकसम्बन्धी जानकारी दिनुहुँदैन। सजगता नै सुरक्षाको पहिलो उपाय हो।”

त्यस्तै, घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी विषयमा असई निर्मला बस्नेतले जानकारी दिनुभयो। उहाँले घरेलु हिंसाको पहिचान, कारण, परिणाम तथा यसविरुद्ध कानुनी संरक्षणका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। “घरभित्र हुने हिंसा प्रायः लुकाइन्छ, तर यसको असर गहिरो हुन्छ,” उहाँले भन्नुभयो, “पीडितले नडराई प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिनुपर्छ। राज्यले कानुनी र सामाजिक सहायता उपलब्ध गराएको छ।”WhatsApp-Image-2025-04-18-at-5.21.20-AM(1)-1744981296.jpeg
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा नं. १ का अध्यक्ष गेम बहादुर खड्का, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, युवा, समाजसेवी तथा बुद्धिजीवी वर्गको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

पालिका प्रवक्ता चौधरीले यस्ता कार्यक्रमहरूले स्थानीय समुदायमा चेतना फैलाउन, समस्या चिन्न तथा समाधानतर्फ अग्रसर हुन प्रेरणा दिने बताउनुभयो। “सामाजिक तथा प्रविधिसम्बन्धी जोखिमबारे साक्षरता दिनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार यस्ता कार्यक्रमहरू विगतदेखि नै विभिन्न वडाहरूमा सञ्चालन हुँदै आएका छन्। आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिने जनाइएको छ। प्रहरी प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

सहभागीहरूका अनुसार, प्रविधि र सामाजिक मुद्दामा नागरिक स्तरमा चेतना विस्तार गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सचेत, जागरुक र संगठित समुदाय निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्