सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, ३ वैशाख - लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिनुभएको छ। राप्ती गाउँपालिका–३, मसुरीयास्थित कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चौधरीले औपचारिक रूपमा राजीनामा घोषणा गर्नुभएको हो।
वि.सं. २०७८ मा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रिपरिषद्को निर्णयअनुसार चौधरीलाई चार वर्षे कार्यकालका लागि समितिको अध्यक्ष नियुक्त गरिएको थियो। दुई वर्षभन्दा बढी समयसम्म कार्यभार सम्हाल्दै उहाँले गढवा गाउँपालिका–१, शितगंगा नगरपालिका–८ र ९ तथा राप्ती गाउँपालिका–२ स्थित कठाहा क्षेत्रमा जग्गा एकीकरणको प्रारम्भिक कार्य अघि बढाउनु भएको थियो।
तर हालको प्रदेश सरकारले कार्यकाल नसकिँदै नेपाली कांग्रेस निकट सुशील कुमार बस्नेत (सुनिल) लाई अध्यक्षमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो। चौधरीले उक्त निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गर्नुभएको थियो, जसपश्चात् अदालतले उहाँलाई काम गर्न नरोकिने आदेश दिएको थियो।
दुवै पक्ष एउटै कार्यालयबाट कार्यसम्पादन गरिरहेको अवस्थामा अन्ततः प्रदेश सरकारको आग्रहलाई सकारात्मक रूपमा स्वीकार गर्दै चौधरीले बस्नेतलाई सहज रूपमा काम गर्न दिने उद्देश्यले राजीनामा दिनुभएको बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै चौधरीले भन्नुभयो, “संस्था र सहकार्यलाई प्राथमिकता दिँदै मार्ग प्रशस्त गरेको हुँ। म आज पनि नमुना राजधानी निर्माणको पक्षमा छु र भविष्यमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार छु।”
त्यस्तै, उहाँले प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा राजधानी व्यवस्थापनका लागि जग्गा एकीकरण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभयो।