क्षयरोग अन्त्यका लागि स्वास्थ्य सचेतना फैलाउन आवश्यक : अध्यक्ष विष्ट

सोमबार, चैत २५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सिसहनियाँ, २५ चैत - राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले क्षयरोग अन्त्यका लागि जनस्तरमा व्यापक स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको बताउनुभएकाे छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

साेमबार वडा नम्बर ९ रुपाकाेटमा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत वडा स्तरीय समिति गठन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक, आर्थिक र मनोवैज्ञानिक रूपमा समेत गाँसिएको गम्भीर विषय भएको उल्लेख्य गर्दै यसको अन्त्यको लागि सबैकाे सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।WhatsApp-Image-2025-04-07-at-6.18.42-PM(1)-1744037089.jpeg
 

“रोग लागेपछि उपचार गर्नु भन्दा पनि रोग नै नलाग्ने वातावरण निर्माण गर्नु बुद्धिमानी हो,” अध्यक्ष विष्टले भन्नुभयो, “त्यसका लागि जनस्तरमा व्यापक स्वास्थ्य सचेतना आवश्यक छ, जसले गर्दा संक्रमणको जोखिम न्यून हुन्छ र बिरामी समयमा उपचारमा पुग्न सक्छन्।”

उहाँले विशेषगरी विद्यालय, टोलटोल र सार्वजनिक स्थानहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै स्थानीय सरकार त्यसका लागि आवश्यक नीति तथा स्रोत साधनको व्यवस्थापनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूमा संक्रमणको जोखिम उच्च हुने भएकाले समयमै रोगको पहिचान, परीक्षण र उपचार सुनिश्चित गर्न पालिकाले स्वास्थ्य संस्थालाई अझ सशक्त बनाउने योजना अघि सारेको जानकारी दिनुभयो।

“सचेत नागरिक, सक्षम स्वास्थ्यकर्मी र प्रतिबद्ध स्थानीय सरकारबीचको सहकार्यले मात्र क्षयरोगमुक्त समाजको सपना साकार हुन सक्ने अध्यक्ष विष्टको भनाइ रहेकाे थियो।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले क्षयरोग चाँडै सर्ने भएकाले यसलाई समुदायमै ‘डट्स’ विधिबाट उपचार गरिने जानकारी दिनुभयो।

उहाँले वडा स्तरीय समितिले क्षयरोग पत्ता लगाउने, प्रभावित व्यक्तिलाई औषधि सेवन गराउन प्रेरित गर्ने र समुदायमा सूचना, शिक्षा तथा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गर्नुभयो।

अभियान संयोजक प्रतिमा विष्टले क्षयरोग फोक्सो मात्र नभई अन्य अंगमा पनि लाग्न सक्ने बताउँदै यसका लक्षण, सर्ने तरिका र उपचारबारे सहभागीहरुलाई जानकारी गराउनुभयो। उहाँले एक संक्रमित व्यक्ति मार्फत १० देखि १५ जनासम्ममा रोग फैलन सक्ने भएकाले सावधानी अनिवार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको संयोजकत्वमा वडा सदस्य, सचिव, स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक,समाजसेवी लगायतका व्यक्तिहरु समावेश १७ सदस्यीय वडा स्तरीय क्षयरोग निवारण समिति गठन गरिएको छ। स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ४ बाहेक गाउँपालिकाका सबै वडामा यस्ता समिति गठन भइसकेका छन्।

राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा ३८ जना क्षयरोगका बिरामी उपचारमा छन्। नेपाल सरकारको लक्ष्य २०३५ भित्र नेपाललाई क्षयरोगमुक्त बनाउने र २०५० सम्म पूर्ण रूपमा क्षयरोग निवारण गर्ने रहेको छ।

यो लक्ष्य प्राप्तिका लागि पालिकाले समुदायमै समिति गठन, जनचेतना अभिवृद्धि, उपचार पहुँचको सहजता र बिरामीको नियमित अनुगमनलाई प्राथमिकतामा राख्दै अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्