सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं - जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मोहम्मद सिराजले आफ्नो उत्कृष्ट बलिङ गरेपछि गुजरात टाइटन्सले आइतबार सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । चौथो खेलमा तेस्रो विजय हात पारेपछि गुजरात दोस्रो स्थानमा उक्लिएको छ । यता गत वर्षको उपविजेता हैदराबाद ५ खेलमा चौथो पराजय भोगी अंक तालिकाको पुछारमा यथावत् छ ।
सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५२ रन मात्र बनाउन सकेको थियो । प्लेयर अफ द म्याच सिराजले ओपनरद्वय ट्राभिस हेड (८), अभिषेक शर्मा (१८) सहित अनिकेत बर्मा (१८) र सिमरजित सिंह (०) लाई आउट गरेका थिए ।
प्रसिद्ध कृष्ण र साई किशोरले पनि कसिलो बलिङ गर्दै २–२ विकेट लिए । हैदराबादबाट नितिशकुमार रेड्डीले ३४ बलमा ३१, हेनरिक क्लासेनले १९ बलमा २७, ईशान किसनले १४ बलमा १७ रन बनाए ।
कप्तान शुबमन गिलले अविजित ६१ रन बनाएपछि गुजरातले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो । मोहम्मद सामीले साई सुदर्शनलाई ५ र प्याट कमिन्सले जोस बटलरलाई शून्यमा आउट गरे पनि गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटमा ९० रनको साझेदारी गरी हैदराबादलाई विजयको नजिक पुर्याएका थिए ।
गिलले आफ्नो इनिङ्समा ९ चौका प्रहार गरे । सुन्दर २९ बल खेली ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए । उनको स्थानमा आएका शेरफन रदरफोर्डले १६ बल खेली ६ चौका र १ छक्का प्रहार गरी अविजित ३५ रन बनाए । हैदराबादबाट शामीले २ विकेट लिए ।