सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, २४ चैत - दाङको घोराहीमा जारी दोस्रो संस्करणको घोराही गोल्ड कप फुटबल प्रतियोगितामा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिकालाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आइतबार भएको खेलमा राप्ती गाउँपालिकाले पहिलो हाफमै तीन गोल गर्दै निर्णायक अग्रता लिएको थियो। खेलको ६औँ, १४औँ र २०औँ मिनेटमा राप्तीका खेलाडी भूपेन्द्र कार्कीले लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
खेलको दोस्रो हाफमा शान्तिनगरका आशिष रानाले एक मात्र गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि राप्तीका भूपेन्द्र कार्कीलाई म्यान अफ द म्याच घोषित गर्दै नगद २५ सय रुपैयाँ प्रदान गरिएको छ। यसअघि उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकाले लमही नगरपालिकालाई १०–३ को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै, आइतबार बिहान सम्पन्न खेलमा गढवा गाउँपालिकाले दंगीशरण गाउँपालिकालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा दाङका आठ स्थानीय तह घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाको टोली सहभागी छन्।
चैत २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनका अनुसार प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।