माओवादी विधान अधिवेशन : पार्टी छरितो बनाउनुपर्नेदेखि चुनाव चिह्न फेर्नुपर्नेसम्मका सुझाव

बुधबार, फागुन २, २०८०

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउन नेता कार्यकर्ताले सुझाव दिनुभएको छ । 

बंगलाचुली गाउँपालिका

आफ्नो समूहबाट सुझाव पेश गर्नेक्रममा हिमाल शर्माले पधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पेश गर्नुपर्ने सुझाव दिनुभयो ।

दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछुतलाई गम्भीर अपराधको रुपमा राख्नुपर्ने सुझाव पेश गर्नुभयो । केन्द्रीय सदस्यको सङ्ख्या सकेसम्म कम गर्नुपर्ने सुझाव रहेको उल्लेख गर्दै उहाँले पूर्णकालिन पार्टी सदस्यको व्यवस्था स्पष्ट रुपमा व्यवस्था गर्न सुझाव दिनुभयो ।

त्यसैगरी कुमार पौडेलले पार्टीलाई विधिगतरुपमा सञ्चालनका लागि विधानलाई पारित गरेर कार्यान्वयनमा लैजान सुझाव दिनुभयो । पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था गर्न विधान गर्नुपर्ने सुझाव दिँदै उहाँले घाइते तथा पूर्व जनमुक्ति सेनाई विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

परसुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछुतलाई गम्भीर रुपमा लिने व्यवस्था गर्नुपर्ने सुझाव पेश गर्नुभयो । चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले विश्वभरका नेपालीलाई समेट्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । 

बामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिँदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधान हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीका सदस्यभन्दा पनि पार्टी सुभचिन्तकको अध्यक्षमा अनुशासन समिति बनाएर शक्तिशाली बनाउनुपर्ने सुझाव पेश गर्नुभयो । हरिराज अधिकारी चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव दिनुभयो । 

उहाँले आयोगलाई सक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिनुभयो । रञ्जित तामाङले यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव प्रस्तुत गर्दै आयोगलाई क्रियाशील बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने सुझाव पेश गर्नुभयो ।

झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछुत गम्भीररुपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो । उहाँले नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउन सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।

निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत नवीकरण गर्नुपर्ने व्यवस्था गर्ने र पार्टीलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव पेश गर्नुभयो । उहाँले स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै पार्टीलाई पार्टी संरक्षक समिति बनाउनुपर्ने बताउनुभयो ।

ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताउनुभयो ।

हालसम्म १० समूहले विधानमाथि सुझाव पेश गरिसकेका छन् । मङ्गलबारदेखि काठमाडौँको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्