सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - सत्तारुढ दलहरूको बैठकले एकजुट भएर जनसरोकारका आवाज उठाउँदै हिउँदे अधिवेशनमा बढीभन्दा बढी कानून निर्माण गर्ने निर्णय गरेको छ।
सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकजुट भई एउटै आवाज उठाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र यसलाई सबैले सकारात्मक रूपमा लिएको बताउनुभयो।
उहाँले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको खुलासा गर्नुभयो। सत्तारुढ दलहरूमा कुनै समस्या नरहेको पनि उहाँले बताउनुभयो। उहाँले संसद्मा सिंगो सत्तापक्ष एकजुट भई अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो।
बर्तौलाले भने, ‘यो बैठकको मुख्य उद्देश्य हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने थियो। सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेशले सकारात्मक सन्देश सम्प्रेषण गरेको छ। निजी क्षेत्रलाई उत्साहित बनाएको छ। यसमा पनि छलफल भएको छ। सत्तारुढ दलमा कुनै सन्देह छैन। संसद्मा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्न‚ संसद्लाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसदलाई बढीभन्दा बढी कानून निर्माणको थलोका रूपमा विकास गर्न छलफल भएको छ।’
उहाँले १८ गतेको संसद्को बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिने निर्णय भएको बताउनुभयो।