लुम्बिनी प्रदेशमा  ट्रायल परीक्षा दिँदा आफ्नै गाडी प्रयोग गर्न पाइने

शुक्रबार, माघ २६, २०८०
दंगीशरण गाउँपालिका

दाङ - लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर सञ्चालनमा कडाइ गर्ने भएको छ । मन्त्रालयले मापदण्ड विपरीतका सञ्चालनमा रहेका त्यस्ता ट्रायल सेन्टरहरु बन्द गर्ने जनाएको छ । लुम्बिनीका १२ जिल्लामा यस्ता कति वटा सेन्टर छन् भन्ने विवरण संकलन भइरहेको जनाएको छ ।

बबइ गाउँपालिका

यातायात मन्त्री सरोज थापाले सम्बन्धित कार्यालय प्रमुखसँगको बैठक गरेर मापदण्ड विपरीतका ट्रायल सेन्टरहरु सञ्चालनमा रोक लगाउने निर्णय गराएका हुन् । मन्त्रालयले सुचना नै जारी गरेर १२ जिल्लामा त्यस्ता ट्रायल सेन्टरहरुको खोजी गर्न लागेको छ ।

मन्त्री थापाको निर्देशनमा कार्यालयले परीक्षामा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल दिन पाउने व्यवस्था गर्ने निर्णय समेत भएको छ । त्यस्तै, सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिहरुको प्रवेश नियन्त्रण गर्ने, डिजिटल प्रविधि मार्फत् हाजिर गराउने जस्ता निर्णयहरु भएको महाशाखा प्रमुख पन्थीले बताउनु भयो ।

जेष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्ता भएका व्यक्तिलाई पालो कुर्न नपर्ने गरी सेवा प्रवाहमा व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । अब चालक अनुमतिपत्र लिने नागरिकहरुलाई बिचौलियाको हैरानीबाट मुक्ति मिल्ने यातायात मन्त्रालयका महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीले बताए ।

बिचौलियाको बिगबिगी भएर सेवाग्राहीले हैरानी खेप्नु परेकाले अवैध सेन्टरहरु खोजी गरेर सञ्चालनमा रोक लगाउने निर्णय भएको उनको भनाइ छ । सम्बन्धित कार्यालयलाई अवैध सेन्टर कति छन् भनेर विवरण संकलन गर्न लगाइएको उहाँले बताउनु भयो ।

मन्त्री थापाले यातायात व्यवस्था तथा सेवा कार्यालयका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर प्रशासनिक काममा त्रुटि नहुने गरी काम गर्न र सहज सेवा दिन निर्देशन दिएका छन् । कार्यालय प्रमुखलाई दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गर्न, मापदण्ड पुगेका सेन्टरहरुलाई मात्र सूचीकृत गर्न र अन्यलाई बन्द गराउन मन्त्री थापाको निर्देशन छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्