सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ ।
यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो ।
हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।
तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शीतलहर चलिरहेको स्थानीयबासिन्दाको भनाइ छ । तर सरकारले शीतलहर घोषणा गरिसकेको छैन ।
शीतलहर चलेको घोषणा गर्न आवश्यक मापदण्डबारेमा सुक्ष्म अवलोकन गरिरहेको र सबै मापदण्ड पूरा भएमा घोषणा गर्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।
मौसमविद झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ ।