सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
देउखुरी - दाङ-देउखुरीको राप्ती गाउँपालिका–५, कालापानी सिसहनियाँमा भोली बिहिबार देखि सञ्चालन हुन लागेको "दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१" को सम्पूर्ण तयारी पुरा भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिका वडा नम्बर ५, कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पुर्वी भागमा सञ्चालन गर्न लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिनु भएकाे छ ।
अध्यक्ष बुढाथोकीका अनुसार स्वागत गेट देखि स्टल निमार्ण, मञ्च निमार्ण, बाल उद्यान, चर्खे पिङ बनाउने, पत्रचार तथा प्रचारप्रसार लगायत सम्पुर्ण तयारी पुरा भइसकेको संघका अध्यक्ष बुढाथोकीले बताउनुभयाे । भोली विहान ११ बजे हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने संघका अध्यक्ष बुढाथोकीले बताउनुभयाे । यसैबीच महोत्सवमा माघ ३ देखि ५ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट वा वडा नम्बर ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थल सम्म ल्याण्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष बुढाथोकीले बताउनुभयाे । प्याराग्लाइडिङले दर्शकहरुलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनुभयाे । महोत्सवमा १ सय ५० बढी स्टल रहेको छ र त्यसमध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेको छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महाेत्सवका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ताले जानकारी दिनु भएकाे छ ।