सरकारले अर्थतन्त्र सुधार्न विशेष ध्यान दिनुपर्छ : महामन्त्री गगन थापा

सोमबार, पुस २२, २०८१

पोखरा - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

पोखरामा आज आयोजित कार्यक्रममा उनले वर्तमान अवस्थामा सङ्कलन हुने राजस्वमा ३५ प्रतिशतले वृद्धि गर्न सकेमात्रै देशका आवश्यकता र राजनीतिक लक्ष्य पूरा हुने भन्दै यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

​महामन्त्री थापाले राजनीतिक स्थिरता भएमात्र उद्योग व्यवसायमा लगानी बढ्ने भएकाले स्थिरता र विकास निर्माणका लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

“सहज रूपमा उद्योग सञ्चालन गर्न र विदेशी पर्यटकलाई आकर्षित गर्न हवाई टिकटको शुल्क घटाएर भए पनि नेपालको अर्थतन्त्रलाई बलियो बनाउन जरूरी छ। राजमार्गको स्तरोन्नति, पर्यटन पूर्वाधारमा लगानी गरी सहज वातावरण बनाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो

राजनीतिक स्थिरताका लागि वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्ने विषयमा छलफल भइरहेको भन्दै महामन्त्री थापाले कुनै पनि दलको बहुमत नहुँदा विकास निर्माण र जनचाहना पूरा हुन नसकेकाले यस विषयमा दलहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

व्यवसायी माइकल कर्माचार्यले पछिल्लो चार महिनामा नेपालको व्यापारघाटा ४६१ करोड रहेको बताउँदै सुधारका लागि सरकारले योजना अगाडि सार्नुपर्ने धारणा राख्नुभयो।

लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुका पराजुलीले उद्योगीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताएउनुभयो।

पर्यटन व्यवसायी एवं पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले गण्डकी प्रदेशका होटलको क्षमता ३५ हजार भए पनि हाल ३० देखि ४० प्रतिशत अकुपेन्सी रहेको बताउनुभयो।

उनले पर्यटन क्षेत्रको पुँजी पलायन भइरहेकामा चिन्ता व्यक्त गरे। पर्यटन व्यवसायी सोम थापाले पर्यटन व्यवसाय धराशायी हुँदै गएकाले यसलाई उकास्न विशेष ध्यान दिन सरकारलाई आग्रहगर्नुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रमा देखिएको मन्दीलाई उकास्न ‘सस्तो प्याकेज’ दिएर भए पनि विदेशी पर्यटकलाई नेपाल घुम्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस अवसरमा उद्योगी बाबुराम गिरी, गणेशबहादुर भट्टराई, गणेश थापा, गीता लामिछानेलगायतले उद्योग व्यवसायलाई सहज रूपमा व्यापार व्यवसाय गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो।

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्