हामी कांग्रेस र एमालेजस्तै भयौँ, नसच्चिए भविष्य डामाडोल हुने निश्चित छ : अध्यक्ष प्रचण्ड

सोमबार, पुस २२, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र अराजकता र गुटबन्दी बढेको भन्दै आक्रोश पोख्नुभयो। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै प्रचण्डले पार्टीको वर्ग नै नामेट हुने ढंगले गतिविधि भइरहेको भन्दै आक्रोश पोख्नुभयो ।

‘हामी जुन बाटो हिँडिराखेका छौँ । त्यति राम्रो बाटो त हिँडिएन । पार्टी अराजकतातिर, गुटबन्दीतिर, व्यक्तिगत स्वार्थतिर केन्द्रीय हुँदै गएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘त्यो त राम्रो होइन । हामीले हाम्रो वर्ग र विरोधी वर्गको भेदलाई मेटाउने खालका कयौँ काम गरेका छौँ, त्यो गलत छ ।’

त्यस्तैगरी उहँले पार्टी दिनदिनै बिग्रिने बाटोमा गइरहेको समेत बैठकमा धारणा राखेको ती स्थायी कमिटी सदस्यको भनाइ छ । ‘हाम्रो र अरबौँ चलखेल गर्ने बिचौलिया र दलाल पुँजीपतिहरुको भेद बिस्तारै मेटिन खोजेजस्तो जनताले भन्न थालेका छन् । माओवादी पनि उस्तै कांग्रेसपनि उस्तै एमाले पनि उस्तै भन्याजस्तो देखिन जो गयो त्यहाँ हामी चुकेकै हो’, प्रचण्डको भनाइ थियो ।

यसले बिस्तारै बिस्तारै माओवादी पनि कांग्रेस र एमालेजस्तै दलाल पुँजीपतिको पक्षधर जस्तै देखिने बाटोमा अघि बढेको महसुस भएकाले सच्चिन ढिला गर्न नहुने प्रचण्डले जोड दिएको उहाको भनाइ छ ।

 ‘हामी सच्चिनका लागि चिरफारसहित जुन स्तरबाट रूपान्तरणका लागि आवश्यक योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यसमा हामी चुकेकै हो’, प्रचण्डले कमजोरी स्विकार्दै भने, ‘यो पटक हामीलाई अवसर र वातावरण पनि प्राप्त छ । हामीले यसबारे जनताबिच पनि आत्मसमीक्षा गरेका छौँ । अब हामीले रुपान्तरण अरुलाई उपदेश दिएर हुने कुरा होइन । पहिला त आफैँ रुपान्तरणको प्रतिज्ञा हुनुपर्छ ।’

उहाँले माओवादी नसच्चिए नेता कार्यकर्ताको भविष्य नरहने र त्यो भन्दा ठुलो कुरा देशकै भविष्य डामाडोल हुन स्थिति रहेको खतरा औँल्याउनु भयो ।

‘माओवादी फेरि विभाजनतिर जाने, फेरि अराजकतातिर जाने, झन कमजोर हुँदै जाने हुने भयो देश र जनताको भविष्य लथालिंग हुने अवस्था छ’, प्रचण्डले भने, ‘हाम्रो काँधमा हामीलाई अन्तिम पटक अवसर प्राप्त भएको स्थिति छ । यसका लागि हामी नयाँ संकल्प गर्नुपर्ने ठाउँमा छौँ

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्