सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २६ र काठमाडौँको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६० कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मङ्गलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १।०९ र डिजेलमा रु २।२२ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर रु १।७१ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । रासस