नेपाल प्रिमियर लिग

एनपीएल : जनकपुर बोल्ट्सलाई चितवन राइनोजले ३२ रनले पराजित गर्‍यो

शनिबार, मंसिर २९, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - जिम्मी निशमले आक्रमक खेल्दै बाउन्ड्रीको वर्षा लगाए पनि उनको जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार चितवन राइनोजले ३२ रनले पराजित गर्‍यो । निशमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य लिएर आएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।

बबइ गाउँपालिका

चितवनले यस विजयसँगैं प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । राउन्ड रोबिन लिगको सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।

सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवनको समान ८ अंकसहित क्रमशः दोस्रो देखि चौथो स्थानमा छन् । काठमान्डु गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको यस विजयले विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् ।

निशमले १८ बलमै अर्धशतक बनाएका थिए । उनी २१ बलमा ५८ रनमा हुँदा सोहेल तनवीरको बललाई क्याच दिन पुगेका थिए । तर तनवीरको ओभर स्टेप भएकाले नो बल रहेका कारण पेभेलियन तिर गइरहेका निशम पुनः क्रिजमा आएका थिए । फ्रि हिटमा प्राप्त अवसरलाई निशमले छक्का प्रहार गरेका थिए ।

निशमले कुल ५ चौका र ६ छक्का प्रहार गरि ६५ रन बनाई तनवीरकै बलमा आउट भए । निशम र मोहम्मद मोहिसनले २६ बलमा ६० रनको साझेदारी गरे । मोहसिन १२ बलमा २ चौका प्रहार गरि १३ रन बनाई रनआउट भएपछि यो साझेदारी टुटेको थियो । पहिलो ओभरमा दुई चौका प्रहार गरेका अनिल साह सोहि ओभरको अन्तिम बलमा रिजन ढकालको बलमा आउट भए । लाहिरु मिलान्था १ र हर्ष ठाकेर ६ रनमै आउट भए । शुभ कंसाकारले १२ बल खेलि २ चौका र १ छक्काका साथ १५ रन बनाए । ओपनर आसिफ शेखले २६ बलमा ४ चौकासहित २३ रन बनाए । रिजन, तनवीर र कप्तान कुशल मल्लले २–२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको ७२ रनमा १८०–५ को स्कोर बनाएको थियो । कुशल र रवि बोपाराले चौथो विकेटमा ६७ बलमा १ सय १३ रनको साझेदारी गरेपछि चितवनले मजबुत स्कोर बनाएको थियो । कुशलले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । बोपाराले ३२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।

विपिन रावल ३ रनमात्र बनाई ललित राजवंशीको बलमा आउट भएका थिए । सन्तोष कार्कीलाई १४ रनमा मोहसिनले बोल्ड गरे । ओपनर हसन इसाखिलले १९ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । एनपीएलका उच्च विकेटकर्ता ललित राजवंशीले २ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै ११ रनमात्र खर्चे । हर्ष ठाकर, जिम्मी निशम र मोहसिनले १–१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्