सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
बाँके - लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोबल एक्सन नेपालले विद्यालय बाहिर रहेका बालबालिका अवस्थाको अध्ययन गरी शनिबार नेपालगञ्जमा प्रतिवेदन प्रबोधीकरण कार्यक्रम गरेका छन् । प्रतिवेदनमा लुम्बिनीको सिस्ने गाउँपालिकालाई केन्द्रित गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले लुम्बिनी, कर्णाली र मधेस प्रदेशमा विद्यार्थीको विद्यालय छाड्ने अवस्थालगायतमा केन्द्रित भई प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो ।
निर्देशक ढकालले भन्नुभयो, ‘के कारणले विद्यार्थीले पढाइ बिचमा छाडेका छन्, त्यसका जोखिम के छन् भनेर अध्ययन गरिएको छ’ प्रस्तुत प्रतिवेदन अनुसार नेपालभरि ५ देखि १७ उमेर समूहका ११।३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेकोमा बाँकेमा १७।९ प्रतिशत छन् । कपिलवस्तुमा १६।२ प्रतिशत छन् ।
कक्षा १–५, ६–८, ९–१२ सम्म पनि विद्यालय बाहिर हुनेमा बाँके र कपिलवस्तुका सबैभन्दा बढी छन् । यसैगरी लुम्बिनीमा १–५ सम्म अध्ययन गरिरहेका मध्ये २०।७ प्रतिशत विद्यार्थी जुनसुकै समयमा पनि विद्यालयबाट बाहिर हुने जोखिममा छन् । ६–८ सम्म ३३ प्रतिशत र ९–१२ का ७८।९ प्रतिशत विद्यार्थी जुनसुकै समयमा विद्यालय बाहिर हुन सक्ने जोखिममा रहेको बताइएको छ ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक तथा हाल कर्णाली प्रदेशका सचिव चूडामणि पौडेलले विद्यार्थी एक जना पनि विद्यालय बाहिर नहुन र जान नपरोस् भनेर कारण पहिचानका लागि अध्ययन गरिएको बताउनुभयो ।
प्रमुख सचिव पौडेलले भन्नुभयो, ‘किन बिचैमा पढाइ छोड्छन, त्यसमा नीतिगत र कार्यान्वयनमा के कस्ता कमजोरी छन् भनेर यो अध्ययन गरिएको हो ।’
शिक्षामा लामो समयसम्म एउटैखालको अवस्था विद्यमान रहनु सबैको कमजोरी भएको उहाँको भनाइ छ । विद्यार्थीलाई विद्यालयमा टिकाउन र सिकाउन केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय जरुरी भएको उहाँको भनाइ छ ।