चार दिनभित्र जाडोमा आगो ताप्दा ६ जनाको मृत्यु

बिहीबार, माघ २५, २०८०

काठमाडौं - जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि मृत्य भएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

त्यस्तैगरी चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको मृत्यु भएको छ ।

जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् । हावाहुरी चलेको बेला जथाभाबी आगो बाल्न हुँदैन भने आगोको काम सकिएपछि राम्रोसँग निभाउनुपर्छ । सलाइ, लाइटरजस्ता आगो लाग्ने सामग्री केटाकेटीले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

यस्तै, हावा ओहोरदोहर हुने ठाउँ वा कोठामा आगो ताप्ने, हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गर्नुपर्छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्नु हुँदैन ।

आगो तापिसकेपछि आगोलाई पूूर्ण रुपमा निभाउनुपर्छ । धेरैले आगो ताप्दा पछाडि फर्किएर ढाड सेक्ने हुँदा लुगाबाट आगो सल्किने जोखिम भएकाले आगो ताप्ता अगाडि फर्किनुपर्ने जलन उपचार गर्ने डा।जश्वन शाक्यको सुझाव छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्