रङ्गीन काउलीप्रति किसानको आकर्षण बढ्दो

बिहीबार, माघ २५, २०८०

सिराहा - सिराहाको लहानका किसान रतन साह रङ्गीन काउली बेच्दा उपभोक्ताको चित्त बुझाउनमै हैरान हुनुहुन्छ । उहाँले आफ्नो पाँच धुर बारीमा लगाउनुभएको रङ्गीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको भिड हुन्छ भने खरिद गर्न उपभोक्ता हिचकिचाउने गरेका छन् । 

बंगलाचुली गाउँपालिका

कसैले स्प्रे गरेर रङ्गीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको आशङ्का गर्छन् । कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन् । सबै जाँच गरेपछि मात्र उपभोक्ताले रङ्गीन काउली किनेको अनुभव साहसँग छ ।  

उहाँले अनलाइनमार्फत भारतको महाराष्ट्रबाट ‘भेलेनटेना’ र ‘कारोटेना’ जातको रङ्गीन काउलीको बिउ मगाएर रोप्नुभएको थियो । राम्रोसँग स्यहारसुसार गर्दा पहेँलो र बैजनी रङको काउलीको  उत्पादन राम्रै भए पनि बेच्न भने मुस्किल भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उपभोक्ताले विभिन्न शङ्का गर्दै ओल्टाइपल्टाई हेर्छन् अनि चित्त बुझेपछि मात्र खरिद गर्छन् ।” उपभोक्ताले बिस्तारै बुझ्दै गएपछि भने बिक्रीमा सहज हुँदै गएको छ । आगामी वर्ष थप आठ कट्ठा क्षेत्रफलमा रङ्गीन काउली खेती गर्ने साहले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्