चर्किएका घरको व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी परिचालन

बुधबार, माघ २४, २०८०

जाजरकोट - भूकम्पपीडितका चर्किएका घरको व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । भूकम्पको तीन महिना बितिसक्दासमेत भूकम्पले चर्किएका घरको व्यवस्थापन नहुँदा जोखिम थप बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिको अनुरोधमा सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटले चर्किएर बस्न नमिल्ने घरका काठ र ढुङ्गा पन्छाउन थालेको हो ।

बंगलाचुली गाउँपालिका

भूकम्पपछि राजनीतिक दलका नेता कार्यकर्ता प्रभावित क्षेत्रमा भत्किएका संरचनाको व्यवस्थापन, अस्थायी आवास निर्माण कार्यमा सहभागी भएको प्रचारबाजी गरिएको थियो । तथापि, भूकम्पले भत्किएका धेरै जसो घरको व्यवस्थापन बाँकी नै रहेको छ । दलका कार्यकर्ताले जीर्ण संरचनाको व्यवस्थापन र अस्थायी आवास निर्माण कार्यसमेत स्थगित गरिसकेका छन् । गरिब, विपन्न, दलित, आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई अस्थायी आवास निर्माणमा समस्या भएपछि सशस्त्र प्रहरी, नेपाली सेनाले साथ दिँदै आएको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका गुल्मपति विकास थापाका अनुसार भूकम्पले चर्किएका ३०३ वटा घर पन्छाएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा छ वटा पिफर्म निर्माण गरेको छ । भेरी नगरपालिका–३ स्थित अपाङ्ग दृष्टि स्रोत कक्षामा दुई वटा अस्थायी आवास निर्माण गरेको छ । आर्थिक अवस्था कमजोर, गरिब विपन्न, वर्गका जनताका घर पन्छाउने काम निरन्तर अघि बढाएको गुल्मपति थापाले जानकारी दिनुभयो ।

तिहारलगत्तै भूकम्प प्रभावित क्षेत्रमा एक महिना सक्रिय भएका दलका नेता कार्यकर्ताले अस्थायी आवास निर्माण, चर्किएका भत्किएका घर पन्छाउन छोडेपछि त्रिपालमुनि चिसो समयमा रात बिताउँदै आएका पीडितलाई अहिलेसम्म सशस्त्र प्रहरी, नेपाली सेनाले साथ दिएका छन् । भेरी नगरपालिका–३ का प्रजित सुनारले घर चर्किएर बस्न नमिल्ने भएपछि भत्काउन समस्या भएकोमा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मसँग सहयोग मागेको र एक हप्तामै पन्छाउने काम सम्पन्न भएको बताउनुभयो । उहाँले कमजोर आर्थिक अवस्थाका कारण कामदार लगाउन नसकेर दुई महिनासम्म त्यतिकै बसेको बताउनुभयो ।

भूकम्प गएको ९५ दिन बित्दा पनि घरबारविहीन जनता अझै पनि त्रिपालमै छन् । अस्थायी आवास बनाउन कसैले रकम पाए भने कसैले रकम नपाउँदा पीडित समस्यामा परेका छन् । बस्न नमिल्ने गरी चर्किएका घर भत्काउन नसकेका जनताका घर भत्काउनमा व्यस्त छन् । सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी थापाले जनताका भूकम्पले चर्किएर बस्न नमिल्ने घर पन्छाउने काम गरेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका गुल्मपति थापाले भूकम्पले घरबारविहीन भएपछि चिसो मौसममा न्यानो आवास नपाएर बिचल्लीमा परेका जनताका आवास निर्माण कार्यमा सहयोग गर्ने बताउनुभयो ।   
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्