दर्शकको रोजाइमा मौलिक उत्पादन

बुधबार, माघ २४, २०८०

वालिङ  - मेला महोत्सव कसैको रमाइलो गर्ने थलो बन्छ भने कसैलाई राम्रो व्यापार गर्ने अवसर पनि बन्छ । अर्कोतर्फ स्थानीय मौलिक उत्पादनको बारेमा जानकारी दिने र बजारीकरण गर्ने गतिलो अवसर पनि बन्नेगरेको छ ।  

बंगलाचुली गाउँपालिका

स्याङ्जाको वालिङमा सञ्चालन भइरहेको वालिङ महोत्सवमा पनि गाउँका मौलिक उत्पादनलाई दर्शकले विशेष ध्यान दिएको पाइन्छ । गाउँका उत्पादनको बजारीकरण गर्ने र जानकारी गराउने राम्रो अवसरका रूपमा महोत्सवलाई प्रयोग गरेको उत्पादकको भनाइ छ ।  

कालीगण्डकी गाउँपालिकाले केराको थाम र यसबाट बनाएको रेसाबाट उत्पादन गरेका मौलिक सामग्रीहरू मेलामा राखेको छ । जहाँ हेर्ने र किन्नेको भिड लागेको छ । महोत्सवमा पालिकाको उत्पादनबारे जानकारी लिनेको सङ्ख्या धेरै रहेको स्टलमा बस्नु भएकी पालिकाका कृषि प्राविधिक कस्तुरी थापाले बताउनुभयो । 

मेलामा स्थानीय मौलिक उत्पादनहरू गुरुङ तथा मगरको संस्कृति झल्कने कपडाहरू, ढाकाको झोला, गुडिया दर्शकको रोजाइमा परेका छन् । स्थानीय उत्पादनहरू सुन्तला, किवी, केरा, मह, अदुवाबाट बनेका विभिन्न सामग्रीहरू लगायत प्रदर्शनीमा राखिएको छ । काठबाट बनाइएको भाँडाहरू, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको रैथानेबाली र अर्ग्यानिक गड्यौले मल, आँधीखोला अर्सा मठ्ठीलगायतले महोत्सवमा पुग्ने दर्शकलाई आकर्षित गरेका छन् । 

अहिले बिक्री र आम्दानीभन्दा पनि पहिचान र प्रचारका लागि स्टल राखेको स्थानीय शिद्धबाबा साबुन उद्योगका सञ्चालक  धनबहादुर सार्कीले बताउनुभयो । उहाँले विदेशबाट फर्केर गाउँमा नै व्यवसाय सुरु गर्नुभएको छ । उहाँले भन्नुभयो, “आयोजकले निःशुल्क स्टल उपलब्ध गराएका छन् । मलाई मेरो उत्पादनको बारेमा जानकारी गराउने राम्रो अवसर मिलेको छ ।”

महोत्सवमा अन्य प्रदर्शनी कक्षभन्दा स्थानीय उत्पादन प्रदर्शनी भइरहेकै कक्षमा दर्शकको चासो बढी रहेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्त्व बढाउन सहज हुने देखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । महोत्सव स्थलमा चारसय स्टल रहेकोमा झण्डै ५० वटा स्टलमा स्थानीय उत्पादनका सामग्री राखिएको छ । 

‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ नाराका साथ वालिङ खेलमैदानमा चलिरहेको आठौँ वालिङ महोत्सव माघ २८ गते सम्म चल्नेछ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्