दाङको बङ्गलाचुली ३ लेकतापामा घर घरमा खानेपानी

बुधबार, माघ २४, २०८०

दाङ - बङ्गलाचुली गाउँपालिका–३, लेकतापा निवासी ३० वर्षीय गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नुपर्ने बाध्यता हटेको छ । गाउँमा खानेपानी आयोजना निर्माणसँगै घर घरमा धारा आएपछि वर्षौँदेखिको खानेपानी समस्या हटेको पुन बताउनुहुन्छ ।  

बंगलाचुली गाउँपालिका

एक छोरा र दुई छोरीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी पुनलाई खानेपानीको धारा आएपछि स्थानीय सरकार घरमै आएको अनुभूति मिलेको छ । “श्रीमान् कमाउन इन्डियामा हुनुहुन्छ, घरमा छोराछोरी सानै छन् । त्यही भएकाले घरको सम्पूर्ण काम म आफैँले गर्नुपर्ने बाध्यता छ । अँध्यारोमै उठेर खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता थियो तर अहिले हट्यो,” उहाँले भन्नुभयो । 

गाउँमा खानेपानीको धारा नआउँदासम्म बिहान ३र४ बजे नै उठेर आधा घण्टा टाढा रहेको अरुङखोलास्थित निगलेनी मुहानमा पुग्नुपर्ने बाध्यता हटेको बताउँदै पुन भन्नुहुन्छ, “वर्षौँपछि अहिले घरमै खानेपानीको धारा आएको छ ।” 

घर घरमा धाराले गर्दा घरको काममा लागि सहज भएको छ । धारा नआउँदा एक गाग्रो पानी ल्याउन पनि आउन जान गरी एक घण्टा हिँड्नुपर्ने बाध्यता थियो । घरमै खानेपानीको धारा आएपछि खानेपानी भर्न बिहानै उठ्नुपर्ने स्थानीयको बाध्यतासँगै समयको बचत हुने गरेको लेकतापाकै ४३ वर्षीय विमला खत्री बताउनुहुन्छ । 

पहाडको ठाउँमा घरदेखि टाढा रहेको अरुङखोलाको छेउमा खानेपानी ल्याउन जाँदा अँध्यारोमा हिँड्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । अँध्यारोको बेला चिप्लो बाटोमा कैयौँ पटक लड्दै हिँड्नु परेको विगत सम्झँदै खत्री भन्नुहुन्छ, “वर्षौँपछि गाउँमा खानेपानीको धारा आउँदा आधा दुःख हटे जस्तो भएको छ ।” 

सरसफाइसँगै गाईबाख्रालाई पानी खुवाउनसमेत सजिलो भएको छ । गाउँका पुरुष धन कमाउन भारत जाने र घरको काम महिलाले गर्नुपर्ने बाध्यताका कारण यहाँका महिलाले धेरै दुःख भोग्दै आएका थिए । गाउँमा खानेपानी नहुँदा भान्साको प्रयोगदेखि सरसफाइमा समस्या हुने गरे पनि अहिले घरमै धारा आएपछि त्यो समस्या हटेको निगलेनी खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष शिवराज पाण्डे बताउनुहुन्छ । 

नेताहरूलाई पटक पटक भन्दा पनि गाउँमा खानेपानीको व्यवस्था हुन नसकेपछि स्थानीयले जनश्रमदानसँगै सामुदायिक वनको २१ लाख रुपियाँ लगानी गरेर खानेपानीको धारा ल्याएको संस्थाका अध्यक्ष पाण्डे बताउनुहुन्छ । 

भूगोलका हिसाबले विकट ठाउँ भए पनि जनताको सामूहिक प्रयासले गाउँमा पानी ल्याउन सफल भएको बताउँदै उहाँ भन्नुहुन्छ, “गाउँमा खानेपानीको समस्या भएकाले समाधानका लागि पटक पटक यस क्षेत्रका जनप्रतिनिधिसँगै नेताहरूलाई भन्यौँ तर पूरा भएन ।” 

उहाँका अनुसार अरुङखोलादेखि लेकतापासम्म लिफ्टका माध्यमबाट पानी ल्याएर ट्याङ्कीमा जम्मा गरी पाइपद्वारा घर घरमा वितरण गरेपछि गाउँमा खानेपानी समस्या हटेको हो । त्यसका लागि वन समूहको २१ लाख रुपियाँ, बङ्गलाचुली गाउँपालिका–३ कार्यालयको तीन लाख ५० हजार र जनश्रमदानबाट करिब चार लाख ८० हजार रुपियाँ बराबरको काम गरी घर घरमा धारा पुर्‍याउन सफल भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

गाउँमा खानेपानीको धारा पुगेपछि गाउँका ४२ घरभन्दा बढीको समस्या हटेको छ । योजना सम्पन्न गर्न करिब पाँच महिना लागेको थियो । पानी प्रयोग गरेबापत प्रतिघर पाँच सय रुपियाँका दर शुल्क उठाउने गरिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्