सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सुनसरी - सुनसरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चांदवेलाका कृषकहरु मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।
चांदवेला क्षेत्रमा विभिन्न समयमा कृषिसँग सम्बन्धित आयोजनाहरुले प्राविधिक ज्ञान दिएपछि कृषक तरकारी खेतीतर्फ आर्कषित भएको कृषक क्षेदन चौधरीले बताउनु भयो ।
चौधरीका अनुसार पहिला एक, दुई कठ्ठामा तरकारी लगाउँदै आएका कृषकहरुले अहिले पाँच कठ्ठाभन्दा बढी क्षेत्रफलमा तरकारी लगाउँदै आएका छन् ।
स्थानीय डिल्लीराम चौधरीले अहिले आठ कठ्ठामा टमाटर, काउली, बन्दा र क्यापसीकन लगाउनु भएको छ । उहाँले प्लाष्टिक मल्चिङ्ग ड्याङ्गमा लगाएर उन्नत तरिकाबाट तरकारी खेती गर्दै आएको बताउनु भयो । “मेरो जागिर र आम्दानी भनेकै तरकारी खेती हो ।,’’ कृषक चौधरीले भन्नुभयो, परिश्रम गरे फाइदा हुन्छ । मालिक बनेर तरकारी खेती गरे फाइदा हुँदैन ।”
वार्षिक दुई लाख आम्दानी तरकारी खेतिबाटै गर्दै आएको डिल्लीरामको भनाइ छ । पाँच वर्षअघि वल्र्ड भिजनको सिप परियोजनाले समूह बनाएर तकारी खेती गर्ने समूहलाई कृषि सामग्री र प्राविधिक सहयोग गरेपछि कृषकहरुले तरकारी खेती गर्न सुरु गरेका थिए । परियोजनाले मल्चीङ्ग, सिचाई बोडिङ्ग प्राविधिक ज्ञान दिएपछि किसानहरु मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।
किसानले उत्पादन गरेको तरकारी ईनरुवा, झुम्का, इटहरी, तरहरा र स्थानीय हाट बजारमा लगेर बेच्दै आएको क्षेदन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेती नगर्ने र देखासेखी गर्न खोज्नेहरुले तरकारी खेतीमा फाइदा छैन भन्छन् । तर तरकारी खेतीमा भिजेका कृषकलाई मात्र फाइदा लिने गरेका छन् ।” क्षेदनको घरपरिवार ३० वर्षदेखि तरकारी खेतीमै रमाई रहेका छन् ।
पछिल्लो समय जलवायू परिवर्तनसँगै रोग किराको प्रकोप रहेकाले तरकारी किसानहरुले सोँचे जतिको फाइदा लिन सकिरहेका छैनन् । मौसमी तरकारी खेतीको मूल्य कम हुने र बेमौसमि तरकारी खेतीको मूल्य बढी हुने भएपछि व्यवासायिक कृषकहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
नेपालमा बेमौसमी तरकारी खेती जेष्ठ, असारदेखि सङ्सिरसम्म गर्न सकिन्छ । मौसमी तरकारीलाई पनि अघि वा पछि गरेर तरकारी उत्पादन गरी कृषकहरुले तरकारीको बढी मूल्य लिने गरेका छन् ।