सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महानगरले टोलीका प्रत्येक खेलाडीलाई जनही एक लाख रुपियाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपियाँ पुरस्कारबाट समन गरेको हो ।
खेलाडीलाई उहाँहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता ढंगोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो ।
राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताउनुभयो ।
‘‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’’ बालेनले भन्नुभयो ।
उपप्रमुख ड्रगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिनुभयो । महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधबार साँझ काठमाडौँको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रतक्ष्य प्रसारण हेर्ने अवसर दिएको थियो ।
जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।