सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका  इच्छाराज तामाङलाई तीन वर्ष कैद , एक अर्ब ७२ करोड  जरिबाना

सोमबार, माघ २२, २०८०

काठमाडौँ - विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । 

बंगलाचुली गाउँपालिका

अदालतले हिजो सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना हुने फैसला गरेको हो ।

सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै हिजो सजाय निर्धारणका लागि पेशी तोकेको थियो । उनकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । त्यही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।

अदालतले इच्छाराज तामाङ, सृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित उनको परिवारका छ जनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्