साफ महिला च्याम्पियनसिप फुटबल

किन रोकियो नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा ?

शनिबार, कात्तिक ३, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं - साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ।

बबइ गाउँपालिका

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा भुटानले बलियो प्रतिद्धन्द्धि नेपाललाई गोलरहित बराबरीमा रोक्दै इतिहास रचेको छ।

भुटानको जितमा उनीहरूको डिफेन्स र गोलकिपर संगिता मोंगरको प्रर्दशन उत्कृष्ट रह्यो भने सावित्रा भण्डारी साम्बाबीना मैदान उत्रिएको नेपालले अधिकांश समय बलमा पकड जमाए पनि ‘फिनिसिङ’मा समस्या देखियो। यहाँ साम्बाको अभाव खट्कियो।

यो बराबरी साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको पहिलो बराबरी हो भने प्रतिस्पर्धा गरेपिच्छे नेपालसँग हारेको भुटानले पहिलोपटक बराबरी खेलेको छ। घरेलु मैदानमा खेलिरहँदा भुटानविरुद्ध गोल गर्न नसक्दा सातौं संस्करणसम्म गोलको वर्षा गर्दै आएको नेपालको यात्रामा ब्रेक लागेको छ।

समूह ‘बी’मा रहेको नेपाल र भुटानको यो खेलपछि १(१ अंक भएको छ भने पहिलो खेलमा माल्दिभ्सलाई हराएको श्रीलंकाको ३ अंक छ। शुक्रबारको नतिजाले सेमिफाइनलमा पुग्न भुटानलाई केही सहज भएको छ। अब भुटानले माल्दिभ्स र श्रीलंकासँग खेल्न बाँकी छ। यी दुई टिमसँग १ जित र १ बराबरीले पनि उसलाई अन्तिम चारसम्म पुर्‍याउन सक्छ।

शुक्रबारको जस्तै स्कोरमा समस्या देखिए नेपालकै लागि अन्तिम चारको सम्भावना चुनौतीपूर्ण देखिन्छ। तर भुटानभन्दा श्रीलंका र माल्दिभ्स कमजोर भएकाले नेपाल अन्तिम चारमा पुग्ने सम्भावनामा शंका देखिँदैन।

भुटानविरुद्ध नेपालले २३ गोल गर्दा एक गोल पनि खाएको छैन। तेस्रो, चौथो, पाँचौँ र छैटौँ संस्करणमा नेपालले समूहचरणमा भुटानलाई सहजै हराएको थियो। सन् २०१४ को तेस्रो संस्करण र सन् २०१६ को चौथो संस्करणमा नेपालले भुटानलाई समान ८(० गोल अन्तरले हराएको छ। चौथो संस्करणमा भुटानलाई ८(० ले हराउँदा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन्।

त्यसपछि विराटनगरमा सन् २०१९ मा भएको पाँचौँ साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ३(० ले हराउँदा पछिल्लो काठमाडौंमा भएको छैटौँ संस्करणमा भुटान नेपालसँग ४(० ले पराजित भएको थियो।

नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै एकपछि अर्को आक्रमण गरे पनि  भुटानी रक्षापंक्ति र  गोलरक्षक संगीता मोंगरका सामु त्यो फिक्का भयो। नेपालले पहिलो हाफमा आधा दर्जन बढि गोल गर्ने अवसर गुमाउँदा तुलनात्मक रुपमा दोस्रो हाफमा त्यत्ति नै अवसर भने बनाउन सकेन।

पहिलो हाफ अधिकांश समय डिफेन्समा मात्र खर्चिएका भुटानी खेलाडी दोस्रो हाफको २० मिनेटपछि गोल गर्ने अवसर सिर्जना गर्नेतर्फ लम्किएका थिए। खेलको १३ औँ मिनेटमा नेपालले अग्रता लिने मौका गुमायो। रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सशक्त प्रहार भुटानी गोलकिपर संगीता मोंगरले बचाइन्।

यस्तै खेलको १७ औँ मिनेटमा सविता रानामगरको पासमा प्रिति राइले गोल गर्ने अवसर गुमाइन् भने लगत्तै १ मिनेटपछि सविताले नै अर्को प्रयास बुन्दा भुटानी डिफेण्डरले रोकिदिए।

यस्तै २४ औँ मिनेटमा रश्मिले गोलको अवसर गुमाइन्। उनले आफूले नहानी त्यो बल सरु या सवितालाई दिएको भए स्कोरको सम्भावना रहन्थो। २५ औँ मिनेटमा नेपालका लागि सरु लिम्बुले अर्को अवसर सिर्जना गर्दा त्यसले सार्धकता पाएन। प्रीतिले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टीबक्स भित्र लगेर हान्दा त्यो बल पोष्ट नजिकै भएर बाहिरियो।

४० औँ मिनेटमा नेपालले भुटानको पेनाल्टी बक्सभित्र लगातार तीनपटक प्रहार गर्ने अवसर पाए पनि भुटानी डिफेन्सको सामु नेपाली प्रयासले सार्धकता पाउन सकेन।  रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल भएन। त्यसपछिका लगातार अरु प्रयास सफल भएनन्।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भएपछि  विमला विकलाई  मैदान प्रवेश गराउँदा दोस्रो हाफमा सरु लिम्बू र रेनुका नगरकोटेको स्थानमा दिपा शाही र रेखा पौडेललाई मैदान प्रवेश गरीयो।

दोस्रो हाफको पनि शुरुदेखि नै नेपालले आक्रमणको सिलसिला रोकेन। फलस्वरूप नेपालले सुरुवाती समय लगातार आक्रमण बुन्दै विपक्षी पोस्ट दबाब कायम गरिरह्यो।

खेलको ५२ औं मिनेटमा नेपालले अग्रता बनाउने सुनौलो अवसर गुमायो। कर्नरमा आएको बललाई रेखाले पहिलो ‘टच’मै पोस्टतीर बल पठाए पनि भुटानी डिफेन्डर जाम्याङ छोदेनले भइसकेको गोललाई  गोललाइनबाट बल क्लियर गर्दै स्कोर हुन दिइनन्।

५८ औं मिनेटमा सविता राना मगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई भुटानी किपर संगीताले विफल पारिन्। लगत्तै एक मिनेट पनि बित्न नपाउँदै रेखाले पेनाल्टि क्षेत्रबाट हानेको बल सिधै भुटानी किपर संगिताको हातमा गयो। पोस्टको जाली चुमाउन रेखाले सकिनन्।

दिपा शाहीको पासमा रेखाले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेकी थिइन्। ब्याक टु ब्याक आक्रमण गरिरहेको नेपालका लागि अनिताको पासमा ६० औँ मिनेटमा रेखाले अर्को प्रयास गरिन्। उनी अझै सफल भइनन्।

६५ मिनेटपछि भुटानको खेल्ने शैलीमा परिवर्तन आयो। डिफेन्समा मात्र ध्यान दिएको भुटान विस्तारै अगाडि बढ्न थाल्यो। ६७ औँ मिनेटमा भुटानले कर्नरमार्फत गोलको अवसर बनाएपनि त्यसले सार्थकता पाएन।

८४ औं मिनेटमा नेपालको गोल गर्ने अवसरलाई फेरी गोलकिपर संगीता मोंगर नै बाधक बनिन्। पेनाल्टी बक्सभित्रबाट आएको सविताको प्रहारलाई भुटानी किपर संगीताले उत्कृष्ट ‘डाइभ’ दिँदै गोल हुनबाट बचाइन्। खेलको दोस्रो हाफको इन्जुरी समयसम्म पनि स्कोरका लागि नेपाल संघर्षरत रह्यो। इन्ज्युरी समयमा सविता राना मगरको प्रहार पोस्टमा लागेर फर्कियो।  साभार थाहा खबर

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्