बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम  बढ्यो

शनिबार, माघ ६, २०८०

काठमाडौं  -  बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढेको छ । बजारमा कर्जाको माग नहुँदा अर्थात ऋण लैजाने ग्राहक नहुँदा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको हो । यसलाई अधिक तरलता भन्ने गरिन्छ ।

बंगलाचुली गाउँपालिका

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप अर्थात बचत जम्मा भएको छ । १५ दिनमै निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ । यस्तै, अहिले बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अर्थात् ऋण दिएका छन् । १५ दिनमा कर्जा प्रवाह भने ३२ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप अर्थात बचत भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब २१ अर्ब रुपैयाँको ९० प्रतिशत अर्थात ५५ खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्थ्यो । तर जम्मा ५० खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ । यसको मतलब बैंक तथा वित्तीय संस्थासँग झण्डै पाँच खर्ब रुपैयाँ अधिक तरलता अर्थात कर्जा नगएर पैसा थुप्रिएको छ ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थासँग ऋण दिने पैसा थिएन अर्थात तरलता अभाव थियो, अहिले भने कर्जा नगएर पैसा थुप्रिएको छ, अर्थात अधिक तरलता छ । अधिक तरलता हुँदा देशमा नयाँ उद्योग कलकारखाना खुल्ने सम्भावना कम हुन्छ, भएका उद्योग कल कारखानाले पनि क्षमता विस्तार नगरेको बुझिन्छ  ।

यस्तै, ब्याज निरन्तर ओरालो लाग्ने सम्भावना हुन्छ र मानिसले बैंकमा पैसा नै नराखी गैरकानुनी बाटोबाट विदेशमा लगेर लगानी गर्नेसम्मको जोखिम रहन्छ । यस्तै, बैंकसँग अधिक तरलता बढ्दै गएमा उनीहरुले ग्राहकबाट बचतको लागि पैसा नै नलिने अवस्था पनि आउन सक्छ । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्