नेपालले अभ्यास खेलमा क्यानडाको स्थानीय एचपी जगुवार्सलाई ६६ रनले हरायो

शनिबार, भदौ २९, २०८१

काठमाडौं - विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीलाई ६६ रनले हराएको छ । टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

बंगलाचुली गाउँपालिका

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा एक सय ८१ रनमा अलआउट भयो । नेपालका ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४७ ओभर ५ बलमा २ सय ४७ रनमा अलआउट भएको थियो ।

नेपालका अनिलकुमार शाहले अविजित सर्वाधिक ४७ रन बनाए । कुशल भुर्तेलले ४१ तथा कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे । क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

श्रृङ्खलाको पहिलो खेलमा नेपालले पर्सि ३१ गते क्यानडासँग, दोस्रो खेल असोज २ गते ओमान, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्