जीप दुर्घटना हुँदा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु

शुक्रबार, भदौ २८, २०८१

बाग्लुङ - बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत  मृत्यू भएको छ।

बंगलाचुली गाउँपालिका

  रा१झ २०० नम्बरको सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।

रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाण्डौ जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो ।

दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेलामा देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्