घोराही उपमहानगरले विद्यालयलाई बस खरिदमा अनुदान दिने

बिहीबार, भदौ २७, २०८१

दाङ - दाङको  घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालयसम्म आइपुग्न सहज होस् भनेर सामुदायिक विद्यालय बसको अवधारणा ल्याएको छ । जसअनुसार उपमहानगरपालिकाले स्कुल बस खरिदका लागि ४० देखि ५० प्रतिशतसम्म अनुदान रकम दिने योजना अघि सारेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा रहेका ६ ओटा सामुदायिक विद्यालयलाई बस खरिदका लागि अनुदान दिइएको छ ।

बंगलाचुली गाउँपालिका

यसरी अनुदान प्राप्त गर्ने सामुदायिक विद्यालयहरूमा वडा नं. ५ मा रहेको मावि धर्ना, वडा नं. ६ मा रहेको मावि जजरागाउँ, वडा नं. ४ मा रहेको मावि गोग्ली, वडा नं। २ मा रहेको गंगा मावि रामपुर, वडा नं. १२ मा रहेको हापुर मावि निघुवार र वडा नं. १७ मा रहेको आधारभूत विद्यालय भैसाही रहेका छन् । यीमध्ये पाँच ओटा विद्यालयले १२ लाख रुपैयाँको दरले अनुदान पाएको र आधारभूत विद्यालय भैसाहीले १७ लाख रुपैयाँ अनुदान पाएको उपमहानगरपालिकाका सामाजिक महाशाखाका अधिकृत नरायण पौडेलले जानकारी दिनुभयो ।

अनुदानबाहेकको थप रकम सम्बन्धित विद्यालयले व्यहोर्ने घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो । ‘करीब २५ लाख रुपैयाँ पर्ने गाडीहरू खरिद भएका छन्,’ पाण्डेले भन्नुभयो, ‘अहिले ३ वर्ष पुगेपछि नै बालबालिकाहरू विद्यालय भर्ना हुने चलन बढेकाले उनीहरूलाई सहज रूपमा विद्यालय जाने वातावरण निर्माण होस् भनेर गाडीको व्यवस्था गरेका हौं,’ पाण्डेले भन्नुभयो, ‘टाढाबाट सानासाना नानीबाबुलाई विद्यालयसम्म आइपुग्न समस्या परिरहेको थियो ।’ उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले समयअनुसार विद्यार्थीहरूलाई सुविधा दिनु आफूहरूको दायित्व भएको बताउनुभयो ।

आगामी दिनमा थप विद्यालयहरूमा पनि बस खरिदका लागि अनुदान दिइने उहाँको भनाइ छ । ‘अहिले धेरै विद्यालयहरूले माग गरिरहनुभएको छ, पहिलो चरणमा ६ ओटा माध्यमिक तहका विद्यालयहरूले अनुदान प्राप्त गरेका छन्,’ चौधरीले भन्नुभयो, ‘आगामी दिनमा थप विद्यालयहरूले पनि अनुदान प्राप्त गर्नेछन् ।’ उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर बस खरिदका लागि अनुदान प्राप्त गर्न चाहने विद्यालयहरूको दरखास्त माग गरेको थियो ।

आधारभूत तहका विद्यालयहरूले पनि साना सवारी खरिदका लागि माग गरिरहेको चौधरीले बताउनुभयो । ‘आधारभूत तह सञ्चालन भइरहेका विद्यालयहरूले साना टेम्पो खरिदका लागि माग गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले थप अध्ययन गरेर आवश्यकताको आधारमा र उपमहानगरपालिकाको आर्थिक स्रोत व्यवस्थापन गर्न सकिने अवस्थाको अध्ययन गरेर उनीहरूलाई पनि सवारी खरिदका लागि अनुदान दिनेछौं ।’ विद्यालयहरूले न्यूनतम शुल्क लिएर विद्यार्थीहरूलाई घरबाट ल्याउने र छाड्ने गर्नुपर्नेछ । गंगा मावि रामपुरका सहायक प्रधानाध्यापक श्रीमन न्यौपानेले उपमहानगरपालिकाले दिएको अनुदानले आफूहरूलाई निकै सहयोग पुगेको बताउनुभयो ।

उपमहानगरपालिकाले दिएको १२ लाख रुपैयाँ अनुदान र विद्यालयबाट १३ लाख रुपैयाँ खर्च गरेर २५ लाखको गाडी खरिद गरिएको उहाँले जानकारी दिनुभयो । सबैजसो संस्थागत विद्यालयहरूले गाडीको व्यवस्था गरेकाले उनीहरूसँग प्रतिस्पर्धा गर्नका लागि सामुदायिक विद्यालयहरूले पनि गाडी खरिद गर्नुपरेको उहाँले बताउनुभयो । पछिल्लो समय घोराहीमा सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको संख्या समेत बढेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्