‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन बनेको हो’

सोमबार, भदौ २४, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबिच गठबन्धन भएको बताउनुभयो। आज नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गर्नुभयो ।

बंगलाचुली गाउँपालिका

“पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो । यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ”, प्रवक्ता महतले भने, “अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएको हो ।” उउहाँले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गर्नुभयो ।

नयाँ सरकार गठन पछि विस्तारै मुलुकको आर्थिक गतिविधि चलयायमान हुँदै गएको प्रवक्ता महतले बताउनुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र प्रकाशित गर्ने उहाँको भनाइ छ । पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागेको उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले एक सय ११ औँ बिपी जयन्तीका अवसरमा डडेल्धुरामा आयोजित ‘मुलुकको समृद्धिमा युवाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको आजै उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उहाँले पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माण गर्न सरकार लागिपरेको उल्लेख गर्दै यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । । साभार रातोपाटी

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्