छात्रवृत्ति अनुदानबारे अनुगमन गर्छौं : प्रधानमन्त्री ओली

शनिबार, भदौ २२, २०८१

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकमबारे अनुगमन गर्ने बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएकाले सबै स्थानीय तहमा अनुगमन गरिने उहाँले जानकारी गराउनुभएको हो ।

बंगलाचुली गाउँपालिका

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विपन्न विद्यार्थीका लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेका लागि वार्षिक २४ हजार रुपियाँ अनुदान दिन ६० करोड रुपियाँ अनुदान दिएको छ ।” दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच  सय रुपियाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको उहाँले जनाउनुभएको छ । त्यस्तै गरी गैरआवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीका लागि ५९ करोड रुपियाँ रकम विनियोजन भएको उहाँले जानकारी दिनुभएको छ ।

शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति विकट हिमाली जिल्लाका विद्यार्थीलगायत सात वटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको हो । साभार गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्