संसद्‌मा स्वीकारे तीन कमजोरी

अब सत्ताको खेलमा छैनौ सरकार एक्लै चलाउने हो : अध्यक्ष प्रचण्ड

मंगलबार, भदौ ११, २०८१

 काठमाडौं -  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब सत्ताको खेलमा नलाग्ने, बरु माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी पुनःगठन गर्ने बताउनु भयो ।

बंगलाचुली गाउँपालिका

वर्तमान सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई बीचैमा झगडा गरेर ‘लौ न  प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन चाहिँ नआइदिन पनि दाहालले संसद्‌बाटै ‘अनुरोध’ गर्नुभयो।

मंगलबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सरकारप्रति आक्रोश पोखेका प्रचण्डले वर्तमान सत्ता गठबन्धनको भविष्यप्रति शङ्का बढाउँदै भने, ‘कांग्रेस एमालेका साथीहरूलाई म यही रोष्टमबाट आग्रह गर्छु( प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन । तपाईंहरूकहाँ सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’

प्रचण्डले थप्नुुभयो, ‘हाम्रो ध्यान आन्दोलनको पुनःगठनमा छ । त्यही पुनःगठनको बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी बनाउँछौं । पहिला पनि बनाएकै हौँ, अब पनि बनाउँछौँ । त्यतिबेलासम्म कृपया तपाईंहरू दुईवटा पार्टी मिलिराख्नुहोला ।  फेरि बीचैमा झगडा गरेर ‘लौ न  प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन चाहिँ नआइदिनुहोला ।’

प्रचण्डको सम्बोधन सुनिरहेका प्रधानमन्त्री केपी शर्मा ओली

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले यसबीच आफूहरू (माओवादी नेतारकार्यकर्ता)ले तीन कमजोरी गरेको पनि बताउनु भयो । जनतासँग सम्वाद, व्यवहार र वर्गीय पक्षधरतामा कमजोरी भएको उहाँको भनाइ थियो ।

‘म यही संसद्‌बाट स्वीकार गर्छु( यसबीच हाम्रा केही कमजोरी भए । जनतासँग सम्वादका कमजोरी भए, व्यवहारका कमजोरी भए, वर्गीय पक्षधरतामा कमजोरी भए,’ प्रचण्डले भन्नु भयो ।

राजनीतिक सहमति पालना नगरेको भनी लाग्ने गरेको आरोपमा दाहालले नेपालको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एकपटकमात्र र केवल एक व्यक्तिले मात्र पालना गरेको तथा त्यो व्यक्ति आफू अर्थात्‌ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको पनि दाबी गर्नुभयो।

उहाँले सत्तारुढ दलहरू माओवादीको कमजोरीमा खेलेर सीमान्त वर्गका प्राप्त अधिकार खोस्न चल्मलाउन खोजेको आरोप पनि लगाए । भने, ‘माओवादी कमजोर भयो कि भनेर विभिन्न खालका चलखेल गर्दै हुनुहुन्छ । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्ट्याउने प्रयास गर्दै हुनुहुन्छ ।’

माओवादीको ध्यान अब सत्तामा नरहेको र सत्तारुढ दलले गर्ने चलखेलको प्रतिरोध गर्ने कुरामा केन्द्रित भएको पनि प्रचण्डको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्