आविष्कार केन्द्रले अस्पतालका उपकरण बनाउने

बिहीबार, भदौ ६, २०८१

काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले सरकारबाट दोस्रो जिम्मेवारी पाएको छ । केन्द्रले सङ्घ अन्तर्गतका अस्पतालमा बिग्रिएका उपकरणको मर्मत सम्भारको जिम्मेवारी पाएको हो । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा त्यससम्बन्धी सम्झौता भएको छ ।
यसअघि केन्द्रले सरकारबाट लामो समयसम्म थन्किएको कृषि सामग्री केन्द्रको जिम्मा पाएर सञ्चालन गरिरहेको छ । यसअघि महावीर पुन नेतृत्वको सो केन्द्रले आविष्कारजन्य कार्यमा समेत सरकारले असहयोग गरेको गुनासो गर्दै आएको थियो ।

बंगलाचुली गाउँपालिका

स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मेवारीको सम्झौतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार आविष्कार केन्द्रले हाल मन्त्रालय अन्तर्गतका अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिएर मर्मत सम्भव भएका सबै उपकरण मर्मत गर्ने छ ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा बिग्रिएका उपकरण  आविष्कार केन्द्रले मर्मत गर्ने र मर्मतपछि अस्पतालहरूमा धेरै सजिलो हुने बताउनुभयो ।

उहाँले देशको सिप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई राज्यका तर्फबाट कदर गरिएको बताउनुभयो । उहाँले स्वदेशी सिपमा कम खर्चमा अस्पतालमा बिग्रिएका उपकरणको मर्मत हुने विश्वास व्यक्त गर्नुभयो । केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगले बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने दाबी गर्नुभयो ।

आविष्कार केन्द्रका प्रमुख पुनले स्वास्थ्य मन्त्रालयले केन्द्रलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिएकामा स्रोत, साधन र प्रविधिको उपयोग गरेर जिम्मेवारी पूरा गरिने बताउनुभयो । उहाँले सम्झौताबाट आफूहरूलाई हौसला मिलेको छ भन्दै सरकारलाई धन्यवादसमेत दिनुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केन्द्रले १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण लिएपछि अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने छ । साभार गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनुहोस्