साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध भुटानको रोमाञ्चक जित

बुधबार, भदौ ५, २०८१

काठमाडौँ  - १० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

बंगलाचुली गाउँपालिका

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलले हरायो । लगातार झरीकाबिच भएको खेलमा भुटानलाई जिताउन जितसुन दोर्जी र नोवाङ छोपेलले गोल गर्नुभयो ।

माल्दिभ्सका लागि फिरकले सान्त्वना गोल फर्काउनुभयो । दोर्जीले २२औँ मिनेटमा गोल गर्दै भुटानको उत्साह जगाउनुभएको थियो । त्यसपछि माल्दिभ्सका फिरकले ५३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

यसअघि भुटान ५१औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । गोलरक्षक सोनम तेन्जिङले डिबक्सबाहिर आएर हातले बल छोएपछि रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । तर, खेलको अन्तिममा छोपेलले गोल गर्दै भुटानलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।

दोस्रो खेलमा पहिलो जितसँगै भुटानले तीन अङ्क बनाएको छ । यसअघि पहिलो खेलमा भुटान भारतसँग १–० गोलले पराजित भएको थियो । माल्दिभ्सले भने हारबाट च्याम्पियनसिपको सुरुवात गरेको छ ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा पूवेश गरिसकेका छन् ।

समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्