आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना नवलपुर र दाङमा सतर्कता अपनाउन आग्रह

मंगलबार, भदौ ४, २०८१

दाङ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो बेलुकादेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बंगलाचुली गाउँपालिका

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुरको डण्डामा ९०, मकवानपुरको रजैयामा ८५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यस्तै डडेलधुरा, कैलाली, दैलेख, कास्की, बाग्लुङ, रुपन्देही, तनहुँ, चितवन , सिन्धुपाल्चोक, ललितपुर, काठमाण्डौ, भक्तपुर, झापा, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, खोटाङ, दोलखा लगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले आज बिहान १० बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तैगरी दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पर्ने बबई नदी र यसका सहायक नदीहरुमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्